टी–ट्वान्टी विश्वकप क्रिकेटः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

काठमाडौं । टी–ट्वान्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको एक सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १४ रन बनाउन सक्यो ।

नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिएका आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।