कृषि विकास सहकारीको रकम अपचलनको आरोपमा चार जना पक्राउ

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको ९४ करोडभन्दा बढी बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। प्रहरीले संस्थाका अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा थापा सहित ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय सञ्जय सापकोटा छन् ।

उनीहरु विरुद्ध ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्।

उक्त सहकारीमा दुई अर्ब ८० करोडको निक्षेप रहेको एसएसपी भट्टराईले बताए। पक्राउ परेका थापा दुई वटा बैंकिङ कसुरमा कारबाहीमा परेको र तीन वटा कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।