ताप्लेजुङमा बाढी पहिरोः दर्जनौं परिवार विस्थापित

ताप्लेजुङ । जिल्लामा बाढी तथा पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् । निरन्तर वर्षापछि बुधबार यता गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।

गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए ।

प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको बताइएको छ ।

यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवार विस्थापित भएको छ । मामांखेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।