प्राधिकरणद्वारा सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ ।

प्राधिकरणले इन्टरनेट (इमेल सहितको) सेवा सञ्चालन गर्न समयमै अनुमति पत्र नवीकरण नगर्ने सात कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले मोरङको बशिष्ठ केबल प्रालि, मारेङकै इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टरनेट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिङ्क नेटवर्क प्रालि, धनुषाको यस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमति पत्र रद्द गरेको हो ।

अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले सेवा प्रदायकहरूको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले ती सेवा प्रदायकहरूले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तिर्नुपर्ने रकम बुझाउन निर्देशन समेत दिएको छ ।