६० केजी सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।

उनीहरुको कनेक्सन न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग रहेको खुलेको प्रहरीले जनाएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेको छन् ।

योसँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, महाराष्ट्रकै धिरज दिनेश वैटे ‘दिनेश’ र प्रशान्त गणेश वजवलकार छन् ।

यस्तै, वीरगन्ज महानगरपालिका–१६ का सुरेन्द्रमान श्रेष्ठ, सूर्यबिनायक नगरपालिका–९ का राजु खत्री, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन सञ्चालक) का बैजनाथ ब्रम्हादत्त गोयल, धादिङको सिद्धलेक–५ का राजु थापा भन्ने प्रेमनाथ सेढाईं र काभ्रेको तेमाल गाउँपालिका–४ का कान्छा लामा चिनको छेन्दुका राजु भोटे र टासी भनेर चिनिने कङ्का चासी, पेवेल नेपाल प्रालिका अध्यक्ष भीम प्रसाद तिमल्सिना, पेवेल नेपालका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र पेवेल नेपाल सञ्चालक समिति सदस्य सुरज सम्शेर जबरा पक्राउ परिसकेका छन् ।

यसैगरी, काठमाडौँ–६ का फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, भक्तपुरका सुशील ज्याकिबन्जा, भक्तपुर नगरपालिका–९ का कश्यप मानन्धर, रुपन्देही तिलोत्तमा–६ का लाल बहादुर कुँवर, बाराका अरुण कुमार यादव र चीनका सोनाम गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।