काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनौटका लागि उसले बुधबार निर्वाचन गरेर सम्पन्न गरेको जनाएको छ।
देशभर १ लाख ४६ हजार ७ सय १४ सङ्गठित सदस्यमध्येबाट १ हजार ४ सय प्रतिनिधि निर्वाचन प्रकृयामार्फत छनौट गरिएको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ।
खुला,महिला र दलित गरी १ हजार८सय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था भएको र त्यसमध्ये ३ सय ४६ केन्द्रीय कमिटीबाट र १ सय ४ जना केन्द्रीय आयोगबाट स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको जनाएको छ।
यही असार १६ देखि २० गते नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले १ सय २५ सङ्गठित सदस्य बराबर १ प्रतिनिधि छनोट गर्ने जनाएको छ।
पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र,भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न भनेको थियो।
एकीकृत समाजवादी पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको जनाएको छ।
