एमाले काठमाडौंका अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

सीता पौडेल(अर्चना)

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षबाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहिबार काठमाडौंको जोरपाटी,नयाँबस्ती स्थित ड्रिम हाउस बैंक्वीटमा एक समारोहकाबीच नवविर्वाचित अध्यक्ष दिपक निरौलाले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

एमाले काठमाडौं लिल्ला कमिटिको सातौं आधिवेशनबाट नवनिर्वाचित अध्यक्ष निरौला र लेखा समिति अध्यक्ष श्यामकाजी कार्कीलाई भने निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत कुमारी खरेलले विजयी घोषणा लगतै पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

सो अधिवेशनबाट निवर्तमान अध्यक्ष  निरौला पुनः निर्वाचित भएका हुन्।सो अधिवेशनबाट उपाध्यक्षमा विश्वराम साप्कोटा,सचिवमा राजेश शाक्य ,उपसचिवमा उद्धव भण्डारी(खुल्ला) निर्वाचित भएका थिए ।उपसचिव महिलामा विन्दु महर्जन सर्वसम्मतीले निर्वाचित भएकी थिइन् ।

गत जेठ २९ गते सम्पन्न एमाले काठमाडौंको सो अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति गठन गरेको छ ।

अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।