पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ ।
खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुदैँ आएकाले पोखरी निर्माण गरिएको हो ।
फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ । फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो ।
सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ ।
स्थानीय चौविस कुरिया टोलको फेदीबाट डिप बोरिङमार्फत पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा फाँटहरुमा हिउँदे खेती, फलफूल, तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने छ । हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने जमिनमा सिँचाइ हुने गरी पोखरी बनेपछि स्थानीय कृषक खुसी भएका छन् ।
पोखरी निर्माणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमार्फत रु २० लाख बजेट प्राप्त भएको थियो । पाँच फिट गहिराइ, दश मिटर चौडाइ र १६ मिटर लम्बाइ भएको पोखरी निर्माण भएपछि देवीस्थानका एक सय ३० घरधुरी लाभान्वित हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चपागाईले बताए ।
