पहिरोले डुम्रे–बेँसीसहर सडक फेरी अवरुद्ध

लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो जादा फेरी डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए ।

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ,गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ।बाटोमा सयौँ यात्री अलपत्र परेका छन् ।यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।