सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ ले करिब ३२ सय राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
वडाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको समन्वय र सहकार्यमा केहि समय अघि वडाका विभन्न ठाउँबाट संकलन गरिएका आवेदन रुजु फारम÷भरपाईका आधारमा गत जेठ २३ गतेदेखि सो परिचय पत्र वितरण कार्य शुरु गरेको वडा नम्बर १६ का कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनले जानकारी दिएका छन्।
कार्यबाहक अध्यक्ष महर्जनका अनुसार वितण कार्य व्यवस्थित बनाउँन र सबै वडावासीको सहजताको लागि वडाको मध्यभागमा रहेको नयाँबजार खुशीबु टाउन प्लानिङ स्थित ‘जुडो÷मार्सल आर्ट हल’ बाट सो वितरण कार्य गरिएको छ।वितरणका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रतिनिधि र वडाले समेत केही सहयोगी खटाएको छ ।
वितरक तथा कार्यालय सहयोगी कल्पना श्रेष्ठका अनुसार ६ हजार ५ सय जनाको परिचयपत्र संकलन गरिएकोमा असार १३ गते बिहीबारसम्ममा ३ हजार २ सय जनाले आफ्नो परिचयपत्र लिइसकेका छन्।भने,बाँकी ३ हजार ३ सय परिचयपत्र वितरण कार्य भइरहेको हुनाले समयमै उपस्थित भएर आफ्नो परिचयपत्र सुरक्षित गर्न सहयोगी तथा वितरक श्रेष्ठले आनुरोध गरेकी छन्।

जुडोहलमा बिहान ९ बजेदेखि १० बजेसम्म टोकन संकलन गरेर १० बजेदेखि दिउँसो २ बजेसम्मको अवधिमा परिचयपत्र वितरण गर्ने र २ बजेपछि संकलित परिचयपत्रलाई व्यवस्थित गर्ने कार्यभइहरेको पनि उनले बताइन्।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रतिनिधि कम्प्युटर अपरेटर प्रदिप श्रेष्ठका अनुसार वडा नम्बर १६ सँगै कामपाका ९,१०,११,१२,१३,१४,१५ र ३२ नं वडाले पनि आ–आफ्ना वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ।
उनका अनुसार वितरणका लागि विभागले जिल्ला प्रशासनमा कर्मचारी पठाउने र जिल्ला प्रशासनले हरेक पालिकाहरुमा खटाउने काम गर्छ।सोहि अनुसार वितरण प्रकृया शुरु गरिन्छ।

अहिलेसम्म काठमाडौंको टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले वितरण कार्य सम्मपन्न गरिसकेका छन्।भने,बाँकी नगरपालिकाहरुमा पनि वितरण कार्य क्रमशःथालिने विभागको तयारी रहेको उनको भनाई छ ।उनले भने,‘विभागबाट हामी सिधैं आउने होइन,विभागले कर्मचारी तोकेर जिल्ला प्रशासनमा पठाउँछ अनि जिल्ला प्रशासनले खटाउने हो।अहिलेसम्म काठमाडौंको टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले सम्मपन्न गरेका छन् ।’
किन अन्य नगरपालिकाहरुमा पनि एकैचोटी वितरण कार्य शुरु नगरिएको ?यो किस्ताबन्दीमा वितरण किन?भन्ने प्रश्नको जवाफ दिँदै उनले श्रेष्ठले भने, ‘अहिले समाजिक सुरक्षा भत्ताको काममा बढी कर्मचारी खटिएका कारण पनि एकै चोटी वितरण कार्य सम्भव नभएको हो ।यसपछि क्रमशः वितरण गरिदै लैजाने तयारी छ ।’उनले भने।
सरकारले उल्लेख गरेअनुसार “राष्ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान हो ।डिजिटल विशेषता रहेकाले यसलाई सार्वजनिक सेवासँग अन्तर सम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुँदा यसको महत्व रहेको छ ।१० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुर बुबाको नाम,आमाको नाम,पति र पप्नीको नाम,औंठा छाप,शैक्षिक योग्यता,पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख भएको हुन्छ ।

नेपाल सरकारले २०६६ ÷ ०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो ।यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिने घोषणा गरेको थियो ।
तत्पश्चात् नेपाल सरकारको मिति २०६७ ÷ ०३÷१६ गतेको निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७÷ ०४÷ ०१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र (National ID Management Center) को स्थापना गरेको थियो।
मिति २०७५।०६।२८ को निर्णयअनुसार उक्त केन्द र केन्द्रीय पञ्जीकरण विभागको एकीकरण ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग’ को नामबाट सञ्चालित छ।
राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाई प्रकृयागत रुपमा अघि बढाउन “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५, “राष्ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि,२०७५”,मन्त्रीपरिषद् र मन्त्रालय स्तरीय विभिन्न निर्णयहरुले कानुनी आधार प्रदान गरेको छ।
नेपाल सरकारले सबै जिल्लामा लागू गर्नुपूर्व आ।व।२०७५÷ ७६ मा पाँचथर जिल्लाका नागरिकहरु तथा सिंहदरबार परिसरका कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरी यसको सफल परीक्षण गरेको थियो।
सरकारले “प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सान,बहुउपयोगी राष्ट्रिय परिचयपत्र हाम्रो पहिचान” भन्ने नाराका साथ राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिने प्रावधान ल्याएको हो ।भने,राष्ट्रिय परिचयपत्र एवं घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति,सुरक्षा र सुशासन प्रवर्द्धन गर्ने ध्येय (MISSION) सरकारले लिएको छ ।
त्यस्तै सरकारले आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र एवं घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको अवलम्वन गरि समृद नेपाल सुखि नेपाली अभियानमा सहयोग पुर्याउने मुख्य लक्ष्य राखेर यो व्यवस्था गरेको जनाएको छ ।
यस्तै नेपाल सरकारले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक पर्ने पूर्वाधार तयार गर्ने,व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा छुट्टै परिचय नम्बर प्रदान गर्ने,जैविक पहिचान सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र तयार गरी वितरण गर्ने,नेपालमा बस्ने सबै व्यक्तिका वैयक्तिक विवरण राष्ट्रिय तथ्याङ्क भण्डारमा समाविष्ट गर्ने,जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणाली मार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणाली विकाश गर्ने र गैर आवासीय नेपाली र विदेशी नागरिकलाई समेत आवश्यकता अनुसार परिचयपत्र उपलब्ध गराउने लगायतका उद्देश्यले यसको व्यवस्था गरिएको उल्लेख गरेको छ।

