पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट । पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको गए राति आएको अविरल वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठे खोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडी खोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ ।