रोल्पा जिप दुर्घटना : सातको मृत्यु, आठ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्ती गाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठ जना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।

घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छ जनाको पहिचान भएको छ भने एक जना बालिकाको पहिचान भएको छैन ।

दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।