
काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा भने नदिने भएका छन्।बरु उनले संसदमा विश्वासको मत माग्ने निर्णय माओवादीले गरेको छ।
बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी पार्टी स्रोतको भनाई छ ।
कांग्रेस र एमालेबीच गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारीसँगै १८ महिना अघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ ।
सत्तारुढ एमाले वा कुनै दलले सरकारको समर्थन फिर्ता लिएपछि अब अर्को सरकार गठनको संवैधानिक प्रक्रिया शुरु हुने देखिन्छ ।
गएरातिको सहमतिसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न पर्ने हुन्थ्यो ।तर उनले तत्काल राजीनामा नदिने भएपछि भने सत्तारुढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
सहमतिको सरकार बनाउने समझदारी अनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।
