असार २८ सम्म मन्त्रालय भाग बन्डाको विषय टुङ्गो लगाउने तयारी छ : बर्तौला

काठमाडौं।नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यहि असार २८ गतेसम्ममा मन्त्रालय भाग बन्डाको विषय टुङ्गो लगाउने तयारी भएको जानकारी दिएका छन्।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल भएको बताएका हुन्।

आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषयमा टुङ्गो लगाउन ढीलो भएको स्वीकार गरे ।

उनले कांग्रेससँग प्रारम्भिक छलफल भएको र राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने तयारी भएको पनि जानकारी दिए।