जापानकी युरिको कोइके लगातार तेस्रो पटक बनिन् गभर्नर

काठमाडौं ।जापानको टोकियो सहरकी पहिलो महिला गभर्नर युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने निश्चित भएको छ।

जापानको गभर्नर कोइके आगामी चार वर्षसम्मका लागि पुनः गभर्नर बन्ने भएकी हुन्।उनको जितले राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई पनि राहत मिल्ने आँकलन गरिएको छ।

फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई तेस्रो पटक टोकियो गभर्नरेटरी चुनावमा समर्थन गरेको छ।पहिलो पटक २०१६ मा निर्वाचित भएकी कोइकेले सन् २०२० मा दोस्रो पटक चुनाव जितेकी थिइन्।

रूढिवादी गभर्नरका रुपमा परिचित कोइकेले कोभिड–१९को महामारी र २०२१ मा ग्रीष्मकालीन ओलम्पिकको समयमा सबैभन्दा बढी जनसंख्या भएको जपानको सो सहरको सफलतापूर्वक व्यवस्थापन गरेकी थिइन्।

— बीबीसी