बेनीका सात विद्यालयको कक्षा घटुवा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ ।

सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए ।सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रूपमा लिएका छौँ,’ उनले भने, ‘कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन ९कक्षा घटुवा० भएको थियो ।’

कक्षा ४ सम्मको पढाइ हुने चेतना आधारभूत विद्यालयमा कक्षा १ सम्म झारेर एक जना शिक्षकलाई बेनी सामुदायिक माविमा व्यवस्थापन गरिएको छ । बेनपा–९ को पद्यमबराह आधारभूतलाई १–५ बाट कक्षा १ सम्म झारेर त्यहाँका शिक्षकलाई बराह आधारभूतमा पठाइएको छ ।

१–५ बाट १–३ मा झारिएको ढोलथान आधारभूतका दुई जना शिक्षकको दरबन्दी भने सोही विद्यालयमा कायम गरिएको छ । १–८ बाट १–५ कक्षामा झरेको बेनपा–२ को हंशबाहिनी आधारभूत विद्यालयका एक जना शिक्षकलाई बालमन्दिर र एक जनालाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको शिक्षा उपसचिव पौडेलले बताए ।