तनहुँमा खानेपानीको पाइप बाढीले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो।

असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो।

‘संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्’,व्यवस्थापक श्रेष्ठले भने, ‘सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।’

डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिए ।नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उनले बताए।

लामो दूरी, भौगोलिक विकटता,जनशक्ति अभाव,प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो ।