शुक्रबार मौद्रिक नीति ल्याउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ ।

यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको जनाइएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ ।त्यसअनुसार मस्यौदा पेस भइसकेको छ । व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।मंगलबार साँझ मन्त्रीसँग छलफल गर्नुअघि गभर्नर अधिकारीले बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पछि भेटघाट गरेका थिए ।मौद्रिक नीति लचिलो बनाउने कि लचिलो भन्ने अहिले नै भन्न नसकिने उनले बताउँदै आएका छन् ।