सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

बुधबार भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ, अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।”