
चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
चार दिनसम्म निःशुल्क प्रवेश गराइएकामा असार २७ गतेदेखि शुल्क लिएर प्रवेश दिइएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गतेयता एक सातामा दुई हजार ८६ जनाले दियालो बङ्गला अवलोकन गरेका छन् । प्रवेश शुल्कबापत रु एक लाख ९१ हजार सात सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु दुई सय र अन्य मुलुकका पर्यटकलाई रु तीन सय शुल्क तय गरिएको उपप्रमुख अधिकारीले बताए । यहाँ दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।
“भरतपुर–१ मा दियालो बङ्गला अवस्थित छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो”, उपप्रमुख अधिकारीले भने । महानगर प्रमुख रेनु दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन् । दरबार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको उनले जानकारी दिइन् ।
