नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

सीता पौडेल(अर्चना)
काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक मन्दिर ‘जगन्नाथेश्वर मन्दिर’मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिने भएको छ ।

बिहिबार वडा नं ७,स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा वडा नं ७ सँगको समन्य र सहकार्यमा उक्त मन्दिरमा २७ फिट अग्लो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको प्राण प्रतिष्ठा पुजनको शुरु गरेको समुहकी अध्यक्ष सुष्मा दवाडीले जानकारी दिइन्।साथै उनले १०८ त्रिशूल महाअभियानबाट सौजन्य स्वरुप सो त्रिशुल प्राप्त भएको बताइन्।

त्रिदिवशिय सो कार्यक्रममा साउन ३ गते बिहिबार पहिलो दिन कलशयात्रा गरेर उल्लेख्य सहभागितामा भव्यताका साथ सम्पन्न गरेको समुहकी सचिव उर्मिला दवाडीले बताइन् ।सचिव दवाडीले सो कलशयात्रा जगन्नाथेश्वर मन्दिरबाट शुरु भएर रामकोट स्थित शान्तेश्वर महादेव मन्दिर लगायतका विभिन्न मन्दिरहरु परिक्रमा गरि पुनःसोही मन्दिरमा आएर पुजा–आर्चनाका साथै भजन–किर्तनसहित औपचारिक कार्यक्रम गरि समापन गरिएको जानकारी दिइन् ।

सो प्राण प्रतिष्ठा पुजनको पहिलो दिन कलशयात्राको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य पंडित नारायण प्रसाद खनालले उपस्थित श्रद्धालुभक्तजनहरुलाई शुक्रबार र शनिबार पनि धार्मिक अनुष्ठान शिवमहापुराणका कथाहरु वाचन गर्ने र श्रवण गराउने जानकारी दिए।उनले वर्तमान परिप्रेक्षमा धर्म र संस्कृतिको जर्गेना,विकास र प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

मानिसले जीवनमा सुख,शान्ति र आनन्द प्राप्त गर्ने हो भने शिक्षा भन्दा पहिला धर्म,संस्कार र संस्कृतिलाई महत्व दिनुपर्ने भन्दै यसको आत्मसात् गरेर मात्र शिक्षा आर्जन गर्नु पर्ने आवश्यक्ता औंल्याए।

उनले भने,‘आज हरेक घरपरिवारमा डाक्टर,इन्जिनियर,पाइलट लगायत उच्च शिक्षा हाँसिल गरेका छोराछोरीहरु छन्,तर उनीहरुका आमा–बुबा एक्लै एक्लै रोइरहेका छन्।तसर्थ घरपरिवारमा सुख,शान्ति र खुशी प्राप्त गर्ने हो भने छोराछोरीलाई शिक्षा भन्दा पहिला संंस्कार सिकाउनु जरुरी छ।’

मन्दिरमा पूजा–अर्चनासहित शिवमहापुराणका कथा वाचन तथा भजन किर्तनसँगै दाताहरुलाई सम्मान समेत गरिने  कार्यक्रमको कलशयात्रापछि औपचारिक कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि एवं प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्रका संस्थापक प्रकाश भुजेलले वडा र महिला समुहले गरेको यस प्रकारको कामको खुलेर प्रसंसा गरे।

उनले ७ नं वडाका वडा अध्यक्ष शैलेन्द्र लामाले जनप्रतिनिधि भएर मात्रै नभएर व्यक्तिगतरुपमा पनि धर्म, संस्कार,संस्कृतिसँगै सांस्कृतिक तथा प्राकृतिक र ऐतिहासिक धरोहरहरुको संवद्र्धनका लागि गरेका कार्यहरुको स्रहाना गर्दै वडा नं ७ ले स्थानीय सरकारका रुपमा असल र कुशल अनि सहि नेतृत्व पाएको दाबी गरे ।उनले भने,‘ ७ नं वडाका वडा अध्यक्ष शैलेन्द्र लामाको कार्यशैली र नेतृत्वको म जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ।कतिपय ठाउँमा यस्ता धार्मिक अनुष्ठानका कर्यक्रम भन्ने वित्तिकै विभिन्न बहाना बनाएर तर्कने वडा अध्यक्षहरु पनि मैले देखेको छु ।

तर बाफरे! उहाँ(शैलेन्द्र लामा)त,के साह्रो धर्म संस्कृतिप्रेमी हो!आफैं छमछम नाच्दै,रमाउँदै सबैलाई उर्जा प्रदान गरिराखेको मैले देखें।यो आत्मैदेखि आएको उर्जा हो।जसका कारण यो कार्यक्र गर्न तपाईँ आयोजकहरु सफल हुनुभएको छ ।यसरी सबैले हाम्रा धर्म र संस्कृतिको रक्षा गर्न आत्मैदेखि लागिपर्नु पर्छ ।’ उनले भने ।

झँक्री गुरु भुजेलले मानिसले यो भौतिक संसारमा छाडेर जाने एक मात्र चिज सत्कर्म रहेको भन्दै हरेक मान्छेले आ–आफ्नो गच्छे र क्षमता अनि शैलिले सत्कर्म गर्न जरुरी रहेको बताए।मानिसको सास सासमा भगवानको बास हुने भन्दै उनले आफूले जीवनमा धेरै दीन दुखीहरुको सेवाका लागि काम गर्दै आएको र कतिपय मानिसहरुको यसको विरोधसमेत गरेर खुट्टा तान्ने गरेकोमा दुखेसो पोखे ।

उनले भने,‘मलाई भगवानले यहि झाँक्री पेशा गरेर खा,यसैबाट समाजमा सेवा गर भनेर आर्शिवाद दिनुभएको रहेछ त!अरुले टाउको दुखाएर हुन्छ ? भगवानले सबैलाई छुट्टाछुट्टै क्षमता दिएका हुन्छन्।त्यही क्षमता प्रयोग गर्ने हो। मैले काम गरेर उनीहरुको करोडौंको काम बनेको छ।विरामीहरु विसेक भयो,सच्चो भयो भनेर खुशी भएर उनीहरुले आफैं दिन्छन्।मैले लुटेर,चोरेर लिएको हैन क्यारे!मेरा पछाडि लागेर,मलाई गाली गरेर,खुट्टा तानेर ती मानिसहरुलाई के हुन्छ ?’उनले भने।साथै उनले यसले आफूलाई दुखी तुल्याएको र यस्तो नकरात्मक भ्रम नछर्न पनि पत्रकार लगायत सबै बुद्धिजिवी वर्गलाई अनुरोध समेत गरे।

कार्यक्रममा १०८ त्रिशुल अभियानकर्ता चन्द्र भट्टराईले आफु सहभागि भएर गरिएका अन्य ठाउँका कलशयात्रा भन्दा नागाजूृन ७ मा भएको सो कलशयात्रा क्रममा बढी वा छुट्टै रौनक,उत्साह र जोशसँगै खुशी र उमंग देखिएको बताए। उनले सो ठाउँका मानिसहरुको धर्म,संस्कार र संस्कृतिप्रति  निकै लगाव र प्रेम झल्किएको भन्दै  वडा अध्यक्ष र आयोजक समुह लगायत सहभागि सबैको मुक्त कण्ठले प्रसंसा गरे ।

उनले अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा १४ वटा त्रिशुल राखिसकेको भन्दै सो अभियान अन्तर्गत  यो १४ औं दिव्य त्रिशूल भएको बताए ।साथै उनले नागाजुनका अन्य २ वटा वडाका मन्दिरहरुमा पनि यस्ता त्रिशुल दान गरिएको जानकारी दिए ।

अभियानका प्रमुख अभियानकर्ता राजकुमार खनालले अभियानले लिएको १०८ त्रिशुल संकल्पको अन्त्यमा रसुवामा अवस्थित नेपालको प्रसिद्ध,ऐतिहासिक धार्मिक स्थल ‘गोसाईं कृुण्ड’मा ५४ फिटको त्रिशुल स्थापना गरिने  सगरमाथा प्रेसलाई जानकारी गराए ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्र लामाले वडाको विकास र वडाबासीको सुख,शान्ति र समृद्धिको लागि धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण,विकास र प्रवद्र्धन गर्नु जरुरी रहेको भन्दै व्यक्तिगत र वडाको तर्फबाट आवश्यक तथा उचित सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस प्रकारका कार्यहरुको निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा समाजसेवी नन्दनहरी गौतमले उक्त मन्दिरको धार्मिकसँगै ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले समेत निकै महत्व रहेको भन्दै मन्दिरलाई पुरानै शैलिमा पूनःनिर्माण गर्नुपर्ने र यसको संरक्षण र प्रवद्र्धनमा वडा,आयोक संस्था र त्रिशुल स्थापनामा सहयोग गर्ने दाताहरुको खुलेर प्रसंसा गरे।

समाजसेवी गौतमले यस्ता धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरुले समाजमा एकता र मेलमिलापसँगै सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता कार्यक्रमहरुमा सबैले हातेमालो गर्नु जरुरी रहेको बताए ।

त्यस्तै वडा नं ८ का वडा अध्यक्ष सुरज पोखरेलले १०८ त्रिशुल अधियानका अभियानकर्ताहरुले समाजमा धार्मिक सहिष्णुता कायम राख्न योगदान पु¥याएको भन्दै यसका अभियानकर्ताहरुप्रति हार्दिक आभार प्रकट गरे ।साथै उनले नेपालका पश्चिमी संस्कृति हाबी हुँदै गएकोप्रति चिन्ता जाहेर गर्दै यस परिवेशमा भावी पुस्तालाई धर्म,संस्कार र संस्कृतिको बारेमा जानकारी दिन र यसको पुस्तान्तरण गर्न पनि सबै एकजुट भएर धर्म संस्कृति बचाउ अभियानमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा नाजार्जूनको वडा नम्बर ८ भिमढुङगा नौमति बाजा महिला समुहले नेपाली मौलिक संस्कृति झल्काउने पञ्चेबाजा र कला प्रस्तुत गरेर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

साथै नेवारी कला संस्कृतिक झल्काउने धिमे बाजा,नाचगान र झाँकी समेत प्रस्तुत गरिएको सो कलशयात्रामा ७ नं वडाकी वडा सचिव सुमा केसी,वडाका अन्य जनप्रतिनिधिहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु,नागार्जूनका अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा समुहकी सदस्य अम्बिका शर्माले उद्घोषकको भूमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रममा सोही वडाको आदर्श कृषक महिला समुहले ४ हजार ५ सय रुपयाँ दान गरेको थियो ।अन्य उपस्थितहरुले पनि आआफ्नो तर्फबाट आर्थिक दान गरेका थिए।