चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो । त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् ।

तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।

यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ ।निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ । तिवारीका गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० थियो । आव २०७८र७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी आव २०७७र७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६र७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।