
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच भएको सहमति आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन्।
४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री आफैं हस्ताक्षरकर्ता भएकाले उक्त सहमति सार्वजनिक गर्नु पर्ने दायित्व भएको बताए। प्रधानमन्त्री ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
‘ हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ।७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’,थापाले भने ।
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए ।
‘हामीले पढ्यौं, पढेकै आधारमा पार्टीभित्र निर्णय गर्यौं, पढेका आधारमा निर्णय गरेको हुनाले त्यसको मर्यादा राखौं भन्ने सोच्यौं । स्वयं त्यसको हस्ताक्षरकर्ता प्रधानमन्त्री बन्नुभएकाले उहाँको जिम्मेवारी पनि हो, अवसर पनि हो र मलाई विश्वास पनि छ’,थापाले भने ।
उनले संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको भन्दै तर समझदारी भइसकेकाले त्यसको पालना गर्नुपर्ने र कामबाट यो समझदारीलाई पुष्टि गर्नुपर्ने बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चकचक नगरेको भए कांग्रेस र एमालेबीच सहमति नहुने थापाले बताए । उनले अबको दुई वर्ष कांग्रेसले ढुक्कसँग प्रधानमन्त्री ओलीलाई काम गर्न दिने उनको भनाई छ ।
‘कुनै अलमलमा नेपाली कांग्रेस पर्दैैन, जे लिखित समझदारी गरेको छ, त्यसमा तलमाथि गर्दैन, यस्तै अपेक्षा नेकपा एमालेबाट पनि गर्छौं’, उनले भने, ‘अहिले दलहरुप्रति, नेताहरुप्रतिको विश्वसनीयता ठूलो परीक्षणमा छ ।’
कांग्रेस एमालेबीचको सहमतिका कारण कुनै पनि गैरकानुनी काम र भ्रष्टाचारमा उन्मुक्ति पाउन नहुने पनि उनको भनाई छ ।
‘
