
चितवन।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रोकिएको निर्माण कार्य तीन वर्षपछि सुचारु हुने भएको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण कार्य आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् ।
इन्जिनियर आचार्यका अनुसार रंशगाला निर्माणको बाँकी कामको ठेक्का पाएको हिमालयन,कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको छ।साइट अफिसको मर्मत,कामदार भवन मर्मत,रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु गर्ने तयारी छ।
रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत)वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ ।महानगरपालिकाका अनुसार निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको छ।
रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन्।यस्तै बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गरेको थियो ।
धुर्मस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर आर्थिक अभावको कारण देखाउँदै बीचमै छोडेको थियो ।२०८३ पुस २२ गतेसम्म निर्माणको म्याद दिइएको छ।
२० बिघा १९ कट्ठा जग्गामा रंगशाला बनिरहेको छ ।
