इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त सो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको खुलेको छ ।

एन–एएमई जहाजमा १९ जना सवार थिए ।उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी रहेको समेत खुलेको छ ।

जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ। 

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएको छ  ।

सो जहाजमा १९ जना सवार भएको भनिए पनि २२ जना सवार भएको समेत सुन्नमा आएको छ ।सावार यात्रुको अवस्था कस्तो छ भन्ने आधिकारिक विवरण र जानकारी आउन बाँकी छ ।