वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सत्कार सहकारीका तीनजना पक्राउ

२३साउन, काठमाडौं ।रकम हिनामिना गरेको आरोपमा सत्कार बचत तथा ऋण सहकारी संस्थाका तीनजना पक्राउ परेका छन्।

सामाखुशीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीनजना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

पक्राउन पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी,रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की छन्। पुरी उक्त सहकारीका सचिव,श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक भएको प्रहरीले बताएको छ।   

आर्कषक ब्याजदर दिने प्रलोभनमा पारेर रकम वचत गर्न लगाएका उनीहरुले बचतकर्ताले जम्मा गरेको रकमको साँवा,ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडित ब्यूरोमा पुगेका थिए।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनसार प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई सोमबार पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूमाथि आज बुधबार सहकारी ऐन,२०७४ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ।

ब्यूरोले सूचना जारीगरी उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्तालाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन अनुरोध गरिएको उनको भनाइ छ।