चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान

काठमाडौं । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गरिने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरकम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । बुधबार आह्वान भएको सूचना अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ ।

१९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले जनाएको छ ।सातभन्दा बढी कम्पनीबाट आवेदन पर्‍यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने भएको छ ।

कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । आउन लागिरहेको मुख्य चाडपर्व लक्षित गरी चिनी आयात गर्न लागिएको विभागको भनाइ छ ।अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले स्पष्ट पारेको छ । अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने भएको छ ।