पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२६ साउन, जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत(जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।