
२८,साउन काठमाडौं ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताएको छ।
कम्पनीको पाँचौँ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए।सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए।
“खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ” मन्त्री भण्डारीले भने।मन्त्री भण्डारीले प्रश्न गरे,“कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन?किन कार्य क्षेत्र विस्तार गर्न सकिएन” ? उनले परम्परागत रूपबाट कम्पनी चल्न नसक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई व्यावसायिक कार्ययोजना बनाउन सचेत गराए ।
देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पुँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औँल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए।
“अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ”,उनले भने,“देशका प्रमुख सरहमा ठुला बिक्री कक्ष राखेर व्यापार अभिवृद्धि गर्नुपर्छ।”कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्ने बताए।
