
३२ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्।
ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्।
लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित प्रदान गर्न पनि उनले आग्रह गरेका छन्। त्यसको समन्वय र समायोजनका लागि प्रधानमन्त्री पत्नी शाक्यले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन् –
‘ पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास !
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो — यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’
लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ।
तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ ।त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।उनले उल्लेख गरेका छन् ।
