जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

तनहुँ । जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् ।

ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छ भने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रूपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो ।

स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रूपमा चियाखेती गरिएको उनले बताए । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रूपमा पनि विकास गर्न सकिने अध्यक्ष श्रेष्ठ बताउछन् ।ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउछन् ।