राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै

सीता पौडेल(अर्चना)

२ भदौ,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)मा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुने भएको छ।

संस्कृति सम्बन्धी नेपाल सरकारको आधिकारिक निकायका रुपमा रहेको सो संस्थानको आयोजनामा संस्थानको मेघा प्रेक्षालयमा भोलि भदौ ३ गते सोमबार जनैपूर्णिमाको दिनदेखि गाईजात्रा महोत्सव हुन लागेको हो।भोली ३ गतेदेखि शुरु हुने उक्त महोत्सव भदौ १० गतेसम्म सञ्चालन हुने संस्थानले जनाएको छ।

संस्थानले मंगलबार ४ गते भने दुईवटा चरणमा कार्यक्रम गर्न लागेको छ।पहिलो चरणमा १ः३० बजेदेखि ५ बजेसम्म र दोस्रो चराणमा ५ बजेदेखि कार्यक्रम गर्ने जनाएको छ।

‘सांस्कृतिक पर्व संरक्षणका लागि हाम्रो यात्रा ,सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयो गाईजात्रा’ भन्ने नाराका साथ आयोजना गरिएको सो गाइजात्रा भोली साँझ ५ बजदेखि शुरु हुँदै छ।गाईजात्रा महोत्सवमा सिताराम कट्टेल(धुर्मुस),कुञ्जना घिमिरे (सुन्तली),राजा राजेन्द्र पोखरेल,पल्पसा डंगोल,सुरेन्द्र केसी(मूलासाग),शिवशंकर रिजाल(जोगिन्दर) लगायतका राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति हेर्न सकिने संस्थानले जनाएको छ।

मौलिक चाडपर्वहरु राष्ट्रका पहिचानयुक्त अमूर्त सांस्कृतिक सम्पदा एवम् सम्पत्ति रहेको र यसको संरक्षण,संवद्र्धन र प्रवद्र्धन गर्दै पुस्तान्तरण गर्नु सबैको दायीत्व रहेको भन्दै संस्थानले सोही उद्देश्यका साथ महोत्सवको आयोजना गरिएकाले सबैलाई यस महोत्सवमा सहभागि हुन पनि आग्रह गरेको छ।

संस्थानले भनेको छ –‘नेपाल बहुजातीय,बहुभाषिक,बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र हो।हरजातिका आ–आफ्नै संस्कृति अन्तर्गतका मौलिक चाडपर्वहरू राष्ट्रका पहिचानयुक्त अमूर्त सांस्कृतिक सम्पदा एवम् सम्पत्ति हुन्।

यिनै चाडपर्वको संरक्षण,संवर्द्धन,प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यकासाथ नेपाल सरकारको संस्कृति सम्बन्धी आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो नीति तथा कार्यक्रम अन्तर्गत नेवार समुदायको मौलिक सांस्कृतिक पर्व गाईजात्रा लाई परम्परागत संस्कृतिको मूल मर्म आत्मसात गर्दै सभ्यभव्य रुपमा मनाउन श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव २०८१ आयोजना गर्ने भएकाले सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।’

विशेषगरि गाईजात्रामा कलाकारहरुले समाजिक,राजनितिक लगायत देशविदेशका विभिन्न क्षेत्रका विकृति,विसंगति,कुसंस्कार र कुरीति जस्ता विषयप्रति व्यंग्यात्मक प्रस्तुती मार्फत मनोरञ्जनसँगै सन्देश प्रस्तुत गर्ने गर्दछन् ।