गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको बिजुली पुग्यो

काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको छ । बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनै पूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्‍याएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईंकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौं ।’

रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरू मानिस र खच्चडले ढुवानी गरिएको थियो ।