पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ ।

कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । साथै गएरातिदेखिको वर्षाले नवलपरासी९बर्दघाट सुस्तापूर्व०का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा मोटरसाइकल बगाएको छ ।

हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फालमगर र उहाँकी छोरी तुलसी फालमगर बोडी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएकामा बाबु र छोरीलाई सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।