नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अंकले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अंकले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ ।कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु। १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार तारा गाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।