स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

२२ साउन,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने बताए।

उनले केवल चुनावी प्रतिष्पर्धा मात्र नभई,निर्वाचित हुने जनप्रतिनिधिहरूलाई शासन सञ्चालनका लागि दक्ष बनाउन विशेष प्रशिक्षणको समेत योजना रहेको जानकारी दिए।

आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरूलाई पहिचान गरी पार्टीको यस अभियानमा जोड्न आग्रह गरे ।

उनले भने, ‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न चाहन्छौं ।नेतृत्वका लागि असल नियत मात्र पर्याप्त हुँदैन ।

पदमा पुग्ने व्यक्तिलाई ऐन–कानूनका साथै सार्वजनिक नीति,सार्वजनिक वित्त र सिमित स्रोत–साधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा आधारभूत ज्ञान र जानकारी हुन आवश्यक छ।’