सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले संसद्‍मा आउँदा पनि कालो चस्मा छोड्दैनन् ।

रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्‍मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका हुन्।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो ।सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्नरगराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए ।
तोकिएको पोशाक र सांसदको लोगो लगाउन तर कालो चस्मा नलगाउन निर्देशन दिएको सभामुख अर्यालका स्वकीय सचिव नवराज पाण्डेले बताए ।