श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

“हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक चिन्तन तथा प्रेरणा र जागरणको दृष्टिलाई प्रादुर्भाव गर्ने ज्यावल हुन्, जसले हामीलाई पारस्परिक रूपमा जोड्ने मृदुल माध्यमको काम पनि गर्छन् ।

” श्रीकृष्ण जन्माष्टमी पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा धुमधामका साथ मनाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रही आएको छ । भगवान् श्रीकृष्णले सिङ्गो मानवताको भलाइका लागि अपनाएका नवआचार र विचारलाई अवलम्बन गर्न अभिप्रेरित गर्दछ ।

यस अवसरमा श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउँछ । गीता उपदेशमा श्रीकृष्णले राजयोग, कर्मयोग, भक्तियोग र ज्ञानयोग जस्ता विभिन्न योगमार्गहरूको महत्व र अभ्यासबारे विस्तृत वर्णन गरेका छन् ।