स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

१२ भदौं,काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सो क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस सम्बन्धमा निर्णय भएको बताएका हुन्।प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उनले गत साउन २७ गते ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ योजना अघि सारेका थिए।

सोही योजना अनुसार विश्वभरका नेपाली चिकित्सक,अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको प्रवक्ता बुढाथोकीले बताए।

उनले भने, “समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ।” मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा.शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन्।यसैगरी विज्ञहरू डा. रुना झा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।