थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

१६, भदौ कञ्चनपुर । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँ बस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्नेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्‍याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकादेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए।

उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दूर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताए। “पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन”, उनले भने, “पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।”