१६, भदौ काठमाडौं । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्नेभएको छ ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए ।
नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताउए।
महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली गर्दै वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा महोत्सवको औपचारिक उद्घाटन गरिने छ ।
उक्त दिन सांस्कृतिक कार्यक्रम एवम् तीज गीत प्रतियोगिता सुरु हुनेछ । त्यस्तै दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा समूहगत छलफल गरिनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री खुस्बु ओली र डा राजु अधिकारीबीच छलफल हुनेछ ।प्रतियोगिताका लागि हालसम्म १६ वटा समूहले दर्ता गरिसकेको कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले जानकारी दिए ।
