
१६,भदौ काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०।१ को खण्ड ९न ० मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेको छ ।सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ ।
