हुलाकी राजमार्गमा नदी तर्न डुंगाकै सहारा

१७ भदौ, सिरहा । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौदेखि यस्तै नियति दोहोरिरहन्छ ।

अरु समय काठेपुलको सहाराममा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षदेखि पुल निर्माण सुरु भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए तर बहुप्रतिक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूँका त्यूँ छ ।

यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूको लागि बर्खामा नदी वारपारको एकमात्र विकल्प डुंगा बनिरहेको छ । ‘घरमात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ । वस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक दुईपटक त आउजाउ गर्नैपर्छ ।

हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ,’ सिरहा नगरपालिका–६ की लिला यादवले भनिन्, ‘कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो । पुस्तौँपुस्तादेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती व्यहोर्न परेको छ ।’