सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

१९, भदौ धनगढी । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएका छन् । ।

गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गदै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उनले भने , “नेकपा (एमाले) ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।”

देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए । गृहमन्त्री लेखकले भने “२०४६(४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था(बहुदलीय व्यवस्था स्थापना गर्‍यौं ।

२०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाई ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताए ।

कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखापरेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो ।