ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

२३ भदौ काठमाडौं । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।

महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन् ।

राजधानी शहरको मुख्य भागमा बसोवास गर्ने महिला भने सार्वजनिक सवारी रिजर्भ गरेर वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदीको मुहान क्षेत्रमा गई स्नान गरिरहेका छन् । स्नानपछि आज भाद्र शुक्ल पञ्चमीमा मनाइने ऋषि पञ्चमीमा नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्छन् । स्नान गरेर मध्याह्नकालमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने विधि छ ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीजं) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी कर्म भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।