
सीता पौडेल(अर्चना)
२३ भदौ,काठमाडौं।विभिन्न किमिसमका सञ्चार माध्यमहरुमा कार्यरत समाचार सम्पादकहरु आवद्ध रहेको ‘सम्पादक समाज नेपाल’ले काठमाडौंदेखि नुवाकोटको लौके झरनासम्मको पदयात्रा गरेको छ।

जलवायु परिवर्तनका असरहरु विरुद्ध जनचेतना जगाउने र त्यसबाट बच्ने उपायहरुको खोजी गर्ने उद्देश्यले समाजले हिजो शनिबार सम्पादकहरुसँगको पदयात्रा कार्यक्रमको आयोजना गरेको समाजका महासचिव तथा कार्यक्रम संयोजक श्यामकाजी डोटेलले जानकारी दिए ।

महासचिव डोटेलले काठमाडौंका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत सम्पादक र पत्रकारहरु गरि एक सय भन्दा बढी पत्रकारहरुको पदयात्रामा सहभागिता रहेको बताए।सो पदयात्रामा काठमाडौंदेखि नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ मा रहेको लौके(ठूलो छहरे)झरनाको मनोरम दृश्यको अवलोकनसँगै नुवाकोटको सूइरेचौर÷सूर्याचौर लगायतका विभिन्न स्थानहरुको स्थलगत भ्रमण गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिइएको पनि बताए।

पछिल्लो समय जलवायु परिवर्तनको असर बृद्धि हुँदै गएको र यसको प्रभावको कारण हिमालमा समेत हिउँ घटेर काला पथ्थर जस्तो देखिन थालेको भन्दै उनले यस अवस्थाप्रति बसै सचेत हुनु जरुरी रहेको बताए।उनले भने,‘जलवायु परिवर्तनको नराम्रो प्रभाव देखिन थालेको छ।हाम्रा हिमालहरु कालो हुँदै गएका छन् ।यसतर्फ सबैको ध्यान जानु अति आवश्यक छ।’
‘यस्ता झरना नेपालमा धेरै छन् ।यी झरना पछिसम्म पनि यस्तै रहलान कि नरहलान भन्ने आशंका पनि उब्जिएको छ ।यसमा सबैको गम्भिर ध्यानाकर्षण हुनु अति जरुरी छ ।’ महासचिव डोटेलले भने ।

जलवायु परिवर्तन र यसले पार्ने प्रभाव न्युनिकरणका सम्बन्धमा सबै प्रकारका मिडियाका संचारकर्मी तथा पत्रकारहरु थप सचेत हुनु पर्ने भन्दै उनले अब यस बारे हेर्ने कथा,देख्ने कथा र पढ्ने कथा सबैमा समेटेर सचेतना फैल्याउनु पर्ने आवश्यकता औंल्याए ।
सम्पादक समाज नेपालका संरक्षक किरण बैद्यका अनुसार काठमाडौंदेखि करिब २८ किलोमिटरको दुरीमा रहेको उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको हब बन्दै गइरहेको छ।विभिन्न मिडियाहरु र सामाजिक सञ्जालमा प्रचार–प्रसार हुन थालेपछि सो झरनाको सुन्दरतालाई नजिकबाट नियाल्न र झरनाबाट हावामा पर–परसम्म उडेका पानीका कणहरुमा रुझेर आनन्द लिन पनि हरेक दिनजसो नै झरनामा पर्यटकको भीड लाग्ने गरेको छ।

स्वगैकै अनुपम उपहारका रुपमा रहेको सो झरनाको अझ राम्रो व्यवस्थापन गर्न सके एक पर्यटकीय नमुन गन्तव्यको रुपमा विकसित हुन सक्ने संरक्षक बैद्यको भनाई छ।
पदयात्रामा निम्त्याइएका सम्पादकहरुलाई स्वागत गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले उक्त झरना भन्दा केही पर रहेको अर्का झरना/सानो झरना गरि दुइवटैको डिपिआर बनाएर व्यवस्थित बनाउने बताए।

साथै उनले सो ठाउँलाई व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र पालिकाका स्थानीयहरुलाई आर्यआर्जनसँग जोडेर उनीहरुको आर्थिक स्तारोन्नती गराउने पालिकाको लक्ष्य रहेको बताए।यस्तै उनले सानो झरनामा क्यानोइन बनाउने तयारी भएको पनि बताए।
प्रचार–प्रसारको कमिका कारण झरनाहरुको प्रर्याप्त चर्चा हुन नसकेको भन्दै उनले सबै सम्पादकहरुलाई आ–आफ्नो तर्फबाट सक्दो प्रचार–प्रसार गरिदिन पनि आग्रह गरे।

उनका अनुसार प्रकृतिले शिवपुरीलाई दिएको वरदान उक्त झरनाको अवलोकन गर्न विदाको दिनमा हजारौंको संख्यामा पर्यटकहरु आउने गरेका छन्।भने,दैनिक सयौंको संख्यामा पर्यटकहरु आउँछन्।साथै उनले लौके झरना भएको ठाउँलाई थप व्यवस्थित गर्नु पर्ने आवश्यकता औंल्याउँदै थप व्यवस्थित बनाउने योजना सुनाए।

उनले भने, ‘श्रमदानको माध्यमबाट यो ठाउँमा आउने बाटो निर्माण गर्न लाग्यौं।हामीले झरना हेर्न जानको लागि पदमार्गमा केही सिंढीहरु पनि बनाएका छौँ।यो प्रयाप्त छैन। अझ धेरै गर्न बाँकी छ।’
‘अब यो झरनाको प्राकृतिक अवस्था नबिग्रने गरि डिपिआर गरेर कसरी अझ व्यवस्थित गर्न सक्छौँ,अझ बढी आन्तरिक पर्यटक ल्याउन सक्छौ भन्नेमा लागिरहेका छौँ।’ उनले भने ।

‘हामीले अझै यहाँको नागरिकलाई आर्थिक उपार्जनसँग कसरी जोड्न सकिन्छ भनेर थप रणनीति पनि बनाउँदै छौं। त्यसका लागि यहाँका प्रकृतिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन तथा स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अगाडी बढेका छौं।’

उक्त पदयात्राका क्रममा सम्पादकहरुसँग कुरा गर्दै उनले लौके झरनाको फेदमा पोखरी निर्माणका लागि र झरनाको फोहोरा पुग्ने र भिज्न मिल्ने भित्तामा सुन्दर चौर निर्माण गरिने बताए।साथै उनले सो ठाउँको पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न ठाउँमा घरबास पर्यटन कार्यक्रम सञ्चालन गर्न सम्बन्धित तालिमहरु पनि सञ्चालन गरिएको बताए।
समाजले पदयात्रासँगै समुन्द्री सतहदेखि करिब २ हजार मिटरको उचाइमा रहेको नुवाकोटको शिवपुरी,७ मा रहेको सुइरेचौरमा रहेका गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको अवलोकन सँगै सो केन्द्रमा जलवायु परिवर्तनका प्रभावहरु न्युनिकरणका लागि अपनाउने रणनीतिका सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो ।






