१ नं वडाका एक कर्मचारीको मृत्युपछि टोखा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम स्थगित

 सीता पौडेल (अर्चना)

२५ भदौ,काठमाडौं।टोखा नगरपालिकाको झोर माहांकालमा अवस्थित वडा नम्बर १ मा कार्यरत सहायक पाँचौं तहका कर्मचारी नवराज दुलालको मुत्युको खबर पाएपछि पालिकाले सञ्चालन गरिरहेको वार्षिक समिक्षा कार्यक्रम स्थगित गरेको छ ।

नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार आज मंगलबार टोखाको मैंजुहिटी स्थित नगरपालिकाको सभाहलमा आर्थिक वर्ष (आव) २०८०÷८१को वार्षिक समिक्षा कार्यक्रम भइरहेको थियो।आधाआधि कार्यक्रम बाँकी नै थियो।१ नं वडादेखि ३ नं सम्मका वडाहरुले मात्रै कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।भने,८ वटा वडाको प्रगति समिक्षा विवरण प्रस्तुत गर्न बाँकी नै थियो।

यत्तिकैमा वडा नं १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने अस्पतालबाट हस्याङ–फस्याङ गर्दै कार्यक्रम स्थलमा आइपुगे।उनले कर्मचारी दुलालको उपचारका क्रममा मृत्यु भएको खबर सुनाए।तत्पश्चात मेयर अधिकारीले निन्याउरो मुख पार्दै यस्तो दुःखद् घडिमा सो कार्यक्रम अगाडी बढ्न नसक्ने भन्दै स्थगित भएको घोषणा गर्न उद्घोषकलाई आग्रह गरे।

कार्यक्रममा उद्घोषण गरिरहेका योजना शाखाका अधिकृत मधु मिश्रले उक्त समिक्षा कार्यक्रम स्थगित भएको उद्घोष गरे ।खाजा ब्रेकको समय भएको थियो।कति जनाले खाजा खाइसकेका थिए।भने,कतिले खाजा खान बाँकी थियो ।

कर्मचारीहरु खाजा बाँड्दै थिए।यत्तिकैमा उनको मृत्युको खबरसँगै मेयर अधिकारी र प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसिसहित कार्यक्रमका उपस्थितहरु हतार हतार अस्पतालतर्फ लागे अधिकृत मिश्रले बताए।

केही समय अघिदेखि निमोनियाका कारण टोखा कै ग्रयाण्डी अस्पतालमा तीन दिनदेखि उपचाररत ५३ वर्षीय दुलालको आज दिउँसो पौने ३ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएको वडा अध्यक्ष लामिछानेले सगरमाथाप्रेसलाई बताए।

स्थगित कार्यक्रम ३० गते दिउँसो २ बजेदेखि सञ्चालन हुने नगर प्रमुख(मेयर)अधिकारीले बताएका छन्।