चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

३, असोज काठमाडौं । सरकारले दशैंसहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ ।

४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ ।

५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ ।त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।

यस्तै कम्पनीले कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ ।आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ । चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी(बोका र च्याङ्ग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।