
५ कात्तिक, काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले नेता द्धय विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए ।‘महासचिव पोखरेलले भने , ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकराण सोध्ने निर्णय भएको छ।’
बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पनि पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए ।उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।
गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।
