गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ,बजार ल्याइदिन सरकारसँग माग

४ कार्तिक,काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म ल्याइदिन माग गरेका छन्।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे।

उनले भने, “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।”

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए।